धान्नै नसक्ने गरी हुइँक्याउँदा बसुन्धरा दुर्घटना
12:36 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नारायणगोपाल चोकदेखि बसुन्धरातिर आउँदा करिब १ किलोमिटर पर ओरालो बाटो छ। त्यही आसपासमा बाटो काट्न जेब्रा क्रसिङ पनि छ।
तीन ठाउँमा ट्राफिक प्रहरीले ‘सावधान! दुर्घटना सम्भावित क्षेत्र, गति सीमित’ लेखिएका बोर्ड पनि टाँसेको छ।
बुधबार दिउँसो पौने ४ बजे बसुन्धराको त्यही ठाउँमा बस्नेत ट्राभल्सको बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने आठ जना घाइते भएका छन्। ओरालो बाटोमा तीव्र गतिमा आएको बसले पैदल यात्रीलाई बचाउन खोज्दा यो दुर्घटना भएको प्रहरीले जनाएको छ। ‘बसले धान्नै नसक्ने गरी तीव्र गतिमा हुइँक्याउँदा यस्तो दुर्घटना भयो,’ घटनास्थलमा रहेका ती प्रहरीले सेतोपाटीसँग भने, ‘गति सामान्य हुन्थ्यो भने जस्तोसुकै अवस्थामा पनि उसले बस नियन्त्रणमा राख्न सक्थ्यो।’
ट्राफिक प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले ‘बाटो काट्ने मान्छेले पनि जेब्राक्रस नभएको ठाउँबाट बाटो काट्न लाग्दा तीव्र गतिमा आएको बसले उनलाई ठक्कर दिएको’ बताए। उनका अनुसार पैदल यात्रुलाई बचाउन खोज्दा ब्रेकले काम नगरेपछि बस बायाँतिर पल्टेर यात्रुलाई ठक्कर दिएको हो।
उक्त क्षेत्रमा यसअघि पनि दुर्घटना भएका थिए। मान्छेको ज्यानै गएको भने यो पहिलोपटक हो।
‘बाटो ओरालो छ, तीव्र गतिमा आएको बसमा ब्रेक लागेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ’, पोखरेलले भने, ‘जेब्रा क्रसमा बाटो नकाट्ने यात्रु र तीव्र गतिमा बस हाँक्ने दुबैको गल्ती देखिन्छ।’
महाराजगन्जबाट गोंगबु बसपार्कतिर गइरहेको बा १ ख ९२८० को बस बसुन्धरा चोकमा अचानक नियन्त्रण गुमाएर बीच सडकमा पल्टिएको थियो।
घटनामा परी मृत्यु हुनेको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको शिक्षण अस्पताल र तीन जनाको बिपी स्मृति अस्पताल बसुन्धरामा उपचार भइरहेको छ।
घाइते हुनेमा धरानका विनोद परियार र दिनेश परियार, नुवाकोटका देवराज न्यौपानेको अवस्था गम्भीर छ।
यस्तै धनगढीका मंगलसिंह ठकुरी, सिन्धुपाल्चोकका स्वाङ्वा तामाङ, सुनसरीका रवि परियार, धादिङका मोहनप्रसाद ढकाल र मोरङका सागर पोखरेल पनि दुर्घटनामा परी घाइते भएका छन्। मृतकको शव टिचिङ अस्पतालमा राखिएको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments