नेपालको विविधता बुझ्न बेलायत जानू!

11:05 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आईतवार ग्रेटर लन्डनको केम्प्टन पार्कमा आयोजित नेपाली मेलामा पुग्दा सिंगो नेपाल बेलायतमा उत्रेको जस्तो देखिथ्यो। नजिकको ट्रेन स्टेशनबाट आयोजनास्थल तर्फ पुग्दा बाटोको लावा लस्कर हेर्दा पहिले नै नेपालको कुनै ग्रामिण मेलामा पुगेको झल्को पाईन्थ्यो।
सात हजार बढी मान्छेको सहभागिता रहेको उक्त नेपाली मेलाको वातावरण हेर्दा विदेशमा नेपाली पहिरन र भेष भुषासहित एकै स्थानमा यती धेरै नेपालीहरु एकै ठाउँमा नेपाल झल्काउन उत्रिन्छन् भन्ने कुरा एउटा आश्चर्य जस्तै देखिन्थ्यो। नेपाली मेलामा बेलायतका झन्डै तीन दर्जन नेपाली संघ संस्थाहरुले आ-आफ्नो जाति धर्म र क्षेत्र विशेषको परम्परा झल्किने सांस्कृतिक झाँकीको आकर्षक प्रस्तुति देखाएका थिए।
गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, तामाङ, नेवार, खस लगायतका बिभिन्न जात जाति आफ्नो मौलिक भेष भुषामा सजिएर अनेकन चाडपर्वमा देखाईने नाचगान र संस्कृतिका विविध पक्षलाई जीवन्त बनाईरहेका थिए।
बाजा गाजा, डम्फु, मादल, ढोल, ढोलकी र झ्याली बजाउँदै सोरठी, चुड्का, सालैजो भाकाहरुमा नाच्दै  एक पछि अर्को आफ्नो ब्यानर बोकेर मार्च पास गर्दै मञ्च अगाडिको प्रस्तुतिमा आइपुगेका सहभागीले दर्शकलाई मन्त्रमुग्ध बनाई दिएका थिए।
मार्च पासमा डोकोमा घाँस बोकेर गुन्यो चोलीमा सजिएका महिलाहरू, काँधमा हलो जुवा बोकेर कतै बेंसीको रोपाईमा हिडेको भान दिने पुरुषहरू, सोलिमा बोकेको खानेकुराको कोसेली मैदानमा पस्किदै गरेका नेपालको मध्य पश्चिमका गुरुङ महिला, साच्चिकै देखिने ढिकी, जाँतोमा कुटानी पिसानीको प्रदर्शनीमा रहेका महिलाहरु हेर्दा नेपालको ग्रामिण परिवेशको कल्पनामा नपुग्ने सायदै कमै थिए होला।
मार्च पासमा कतै डोकोमा हिमाली राडी पाखी बोकेर हातमा ढ्यांग्रो ठोक्दै लामा खेल्दै हिड्ने देखिए त कतै मारुनी र पुरूसुंगे बनेका भैलिनीहरूले अहिलै तिहार निम्त्याए। तीज, दसैं  र  शक्रान्तीका परिवेशहरु लगायत नेपाल भित्रको नेपाल देखाए नेपाली मेलाका सहभागीहरुले। बेलायतको नेपाली मेलाले नेपालको ग्रामिण परिवेशका रहन सहन, कला संस्कृति र जीवन शैली खर्लप्पै पस्केको थियो।
‘नेपाल बुझ्न बेलायत जानू’ भन्ने उखान बन्ला जस्तो पो भयो त’, यती सारो नेपाल हेर्न त नेपालमै पनि पाइदैन होला,’ मेलाका एक सहभागीले कार्यक्रम स्थलमै प्रतिक्रिया दिए, ‘नेपाल आफ्नो संस्कृतीमा कति धनी छ भन्ने कुरा आजको झलकले नै प्रमाणित गर्दछ।’
तमु धी युकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा भएको उक्त कार्यक्रममा नेपाली बाहेकका विदेशी सर्वसाधारण तथा विदेशी कुटनीतिक पाहुनाहरुको उल्लेख्य उपस्थिति थियो।
‘यसपाली बिशेष गरेर विदेशी डिप्लोम्याटको सहभागिता बढी रह्यो, उनीहरुलाई नेपाली संस्कृति देखाउन पाउनु हाम्रो गौरव कुरा हो’, तमु धी युकेका सल्लाहकार सूर्य गुरुङले सेतोपाटीसँग भने।
विदेशी कुटनीतिक निकायका पदाधिहरुको सहभागिताको लागि यहाँस्थित नेपाली दूतावासले संयोजन गरेको थियो। ‘विदेशमा नेपाली कला संस्कृति र पहिचानको चिनारीको लागि यस्ता कार्यक्रमको विशेष महत्व हुन्छ’, बेलायतका लागि कार्यबाहक नेपाली राजदूत शरद राज आरनले भने।
मेलामा  उत्कृष्ट प्रस्तुतिको पुरस्कार लमजुङ समाज युकेले जित्यो। नयाँ पुस्ताका बिभिन्न म्युजिकल ब्याण्डले कार्यक्रममा लाईभ प्रस्तुति दिए।
‘कार्यक्रम अत्यन्तै सफल बन्यो, यो कुनै जाति विशेषको नभएर सम्पूर्ण नेपालीको मेला हो, यो सिंगो नेपालको पहिचान र गौरव हो’, तमु धी युकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरूङले भने।
मेलाको समग्र संयोजन गरेका नन्दजंग गुरूङले युवा पुस्ताको मेला प्रतिको आकर्षणलाई बिशेष सफलता मान्न सकिने बताए।
महासचिव हरि गुरुङले सञ्चालन गरेको औपचारिक सेसनमा संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चोहान, नेपालका सांसद डा. गणेश गुरुङ लगायतले मेलाको शुभकामना दिएका थिए।
लन्डन मेयर सादिक खानले कार्यक्रम सफलताको शुभकामनासहित पठाएको भिडियो संदेश पनि कार्यक्रममा देखाईएको थियो। कार्यक्रम स्थलमा बिभिन्न नेपाली ब्यवसायीले प्रवर्धनमुलक स्टल राखेका थिए। मःम लगायत नेपाली परिकार पस्किने खानाका स्टलमा सहभागीको घूईचो लागेको थियो।
भिडियो सहित हेर्नुहोस !
Advertisement
Newer Post Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images