जनताले नदेखेको पूर्वराजा वीरेन्द्रको घर

6:25 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नारायणहिटी राजदरबारभित्र एउटा सदनमा वर्षौं भइसक्यो ताल्चा लागेको।
विभिन्न देवीदेवताका आकृतिले कुँदिएको त्यहाँको गेटभित्र टाइल (झिँगटी) ले छाएको एउटा तीनतले घर छ। रङ लगाइएको छैन, धेरै झ्याल सादा छन्, ढोका कुँदेर बनाइएका छन्। घरको अघिल्तिर दुबो उम्रिएको खुला चउर छ। घरसम्म पुग्ने बाटोको पिच उक्किन थालेका छन्। वरिपरि जंगल बढ्दै छ, पन्छाउने कोही छैन।
कहिलेकाहीँ दुई जना कर्मचारी कुमारी राना र तारा मालाकार कुचो लगाउन आउँछन्। जालोसालो पन्छाउँछन्। यहाँको सम्भार भनेको यत्ति हो। र, पछिल्लो १२ वर्षदेखि यत्तिकै छ।
यो घर अरू कसैको होइन, पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य बस्ने घर हो- श्री सदन।
पूर्वराजा वीरेन्द्रको परिवार बस्ने श्री सदनभित्र नेपालको राजसंस्थासँग जोडिएका ऐतिहासिक पुरातात्विक वस्तु थोत्रिएर बसेको यहाँका कर्मचारी बताउँछन्। यो नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्छ, तर सर्वसाधारणका लागि खुला गरिएको छैन।
यहाँभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ। ‘राजामहाराजा चाहिँ ताराकै मान्छे होलान्, उनीहरू सुनचाँदीका थालमा भात खान्छन्, सुनचाँदीमै सुत्छन् भन्ने जनताको बुझाइ होला तर उनीहरूको जीवनशैली जान्न श्री सदन हेरे पुग्छ,’ नारायणहिटी दरबारमा तीन दशकदेखि कार्यरत तथा हाल संग्रहालयका प्रमुख रोहित ढुंगाना भन्छन्।
...

‘यो सदनमा अहिलेसम्म कोही सर्वसाधारण छिरेको छैन,’ ढुंगानाले सुरुमै हामीलाई त्यसको महत्व दर्शाउँदै भनेका थिए।
श्री सदनको निर्माण २०२३ सालमा भएको हो। उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्पराअनुसार वीरेन्द्रका लागि श्री सदन बनेको थियो। संग्रहालय प्रमुख ढुंगानाका अनुसार स्व. मोतीरत्न स्थापितको नेतृत्वमा श्री सदन निर्माण भएको हो। राजदरबारका पूर्वकर्मचारी भीमबहादुर खड्का, महेन्द्ररत्न बज्राचार्य, श्री राजेश्वरमाका साथमा राजा वीरेन्द्रले श्री सदनको नक्सा तयार पारेको यससम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
नेपाली शैलीको यो भवनमा टायल, काठ, सिमेन्ट, देवीदेवताका मूर्ति कुँदिएका ढोकाहरू छन्। सात रोपनी पाँच आना जग्गामध्ये ७ आना दुई पैसा क्षेत्रफलमा यो भवन ठडिएको छ। पूर्वतर्फ दक्षिण फर्किएको तीन तलाको यो घरमा १६ कोठा छन्।
वीरेन्द्रका परिवारमध्ये युवराज दीपेन्द्र मात्रको यो घरमा कोठा देखिँदैन। उनी सानै उमेरबाट महेन्द्र मञ्जिलको नजिकै रहेको त्रिशुल सदनमा हुर्के। २०४६ साल असारपछि उनको उमेर १८ वर्ष पुगेको हुनाले त्रिभुवन सदनमा बस्ने व्यवस्था मिलाइयो, उही राजपरम्पराका कारण। पछि त्यसै भवनको माथिल्लो भाग भत्काएर दीपेन्द्रलाई अत्यावश्यक कोठा निर्माण गरी आधुनिक बंगला तयार पारिएको थियो। दीपेन्द्र २०५२ सालदेखि त्रिभुवन सदनमा स्थायी रुपमा बस्न थालेका थिए।

श्री सदनको भुइँतलामा राजारानीको कार्यकक्ष, अध्ययन कक्ष, मूल ढुकुटी, खाना अघि र पछि आराम गर्ने कक्ष, भोजन, बार र दुई शौचालय छन्। सबै कक्ष साधारण किसिमका छन्।
यो घरमा राजा जन्मेदेखि मृत्युसम्मका ऐतिहासिक तस्बिर, विभिन्न कक्षको प्रयोग, विभिन्न जनावरका अंग प्रत्यंग, राजपरिवार सदस्यले प्रयोग गरेका साधनहरू पनि प्रशस्तै छन्। पूर्वराजा वीरेन्द्र स्वयंले प्रयोग गर्ने तीन जोर सैनिक पोसाक र दुई जोर बुट पनि यहाँ सुरक्षित छन्।
वीरेन्द्रको वंशनाश भएपछि यो सदनको ढुकुटी के भयो भन्ने कसैलाई पत्तो छैन। त्यसबाहेक ऐतिहासिक महत्व बोकेका सामग्री यहाँ रहेकाले श्री सदनको संरक्षण जरुरी रहेको ढुंगानाको बुझाइ छ। ‘श्री सदनमा पूर्वराजा वीरेन्द्रलाई सम्झेर घन्टौं बिताउने सामग्रीहरू छन्, उहाँको परिवारको फोटो हेरेर मात्र पनि दिन बिताउन सकिन्छ,’ उनले भने, ‘अधिराजकुमारी श्रुतीको हातले बनाएका चित्र सिँढीमाथि छन्, यसलाई इतिहासमा राख्न जरुरी छ, गणतान्त्रिक मुलुकका नेताहरूलाई एकपटक श्री सदन देखाउन मन लागेको छ।’
यो घरको दोस्रो तलामा पूर्व राजारानी वीरेन्द्र र ऐश्वर्यको शयन कक्ष छ। ढुकुटी कक्ष छ। पोशाक कक्ष, पारिवारिक जमघट कक्ष, रानी ऐश्वर्यको श्रृंगार कक्ष, पूजा कक्ष र दुई शौचालय छन्। तेस्रो तलाको बायाँ पूर्वअधिराजकुमार निराजनको शयन कक्ष छ। अध्ययन कक्ष, कौसीमा पिङ, शारीरिक व्यायाम कक्ष र शौचालय पनि छन्।

पूर्वराजा वीरेन्द्र र पूर्वरानी एेश्वर्यले प्रयोग गर्ने पलङ। तस्बिर : खिलानाथ/सेतोपाटी
दायाँतर्फ पूर्व अधिराजकुमारी श्रुती बस्ने कोठा छ। त्यस्तै बेड, श्रृंगार, अध्ययन कक्ष, पिङ रहेको कौसी छ। तेस्रो तलामाथि नै गोबर र रातोे माटोले पोतेर छोपेको नेपाली पाराको बुइँगल छ।
‘राजारानीका छोराछोरी यस्तो बेडमा सुत्थे भनेर कसले कल्पना गर्ला र?’ सबै कोठाका साना खाट देखाउँदै ढुंगानाले भने, ‘देखाउनका लागि हामीले राखेका हैनौं, होस्टल बसेका केटाकेटी यस्तै खाटमा सुत्न रुचाउँदा रहेछन्।’ उनका अनुसार नानी गञ्ज, भान्साघर, पूजा कोठा, बगैंचा, कलात्मक द्वार, कुँदिएका बुट्टा श्री सदनका आकर्षण हुन्।
दरबारमा २०४१ सालदेखि काम गरिरहेका टिकाराम महर्जनका अनुसार यहाँ प्रयोग भएका सरसामग्री जस्तो अवस्थामा थिए, त्यस्तै अवस्थामा छन्। ‘बाथरुममा राखिएको स्याम्पु, रेजर, ब्रसदेखि उहाँहरूले प्रयोग गरेको सेन्ट, क्रिम सबै जस्ताको तस्तै छन्,’ उनले भने, ‘तर, पर्याप्त संरक्षणको अभावमा यहाँ रहेका चिजबिज बिग्रेर जान सक्छन्।’
श्री सदनको प्रत्येक तलामा पछाडितिर जाने दुई–दुई वटा ढोका छन्। जसमध्ये तल्लो तलाको एउटा ढोकामा घन्टी राखिएको छ। त्यो घन्टी बजेपछि पहिले सदनमा काम गर्ने कर्मचारी हाजिर हुनुपर्ने  नियम थियो। भवनको अगाडिपट्टिको मध्यभागमा दायाँ–बायाँ दुईवटा सिंहका मूर्ति छन् भने मुख्य प्रवेशद्वारको दायाँ–बायाँ ‘ड्रयागन’ का मूर्ति छन्। द्वारको सिंहले पराक्रमी, नेतृत्व र शालीनताको प्रतीक चिनाउने र ड्रयागनले हावाहुरी तथा चट्याङबाट हुने क्षति कम हुने हुने जनविश्वास छ।
भवन अगाडि आँगनमा एउटा ठूलो घन्टा झुन्ड्याइएको छ। उक्त घन्टमा २०२३ श्रीसदन लेखिएको छ।
श्री सदनलाई सर्वसाधारणको निम्ति खुला गर्न एकपटक प्रयास भएको हो। २०७१ सालमा श्री सदन प्रदर्शन गर्न संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्राययको पहलमा छ सदस्यीय समिति बनेको थियो। उप–सचिव उद्धैतप्रकाश श्रेष्ठको संयोजकत्वमा बुद्धिबहादुर गुरुङ, पूर्णबहादुर श्रेष्ठ, गौरी पौडेल, बिमला गुरुङ र अर्चना खड्का रहेको समितिले विस्तृत अध्ययनपश्चात श्री सदनलाई खुला गर्न खोजेको थियो। तर, २०७२ सालको महाभूकम्पले श्री सदनछेउमै रहेको एउटा भवन भत्काएपछि त्यतिकै रोकिएको छ। श्री सदन छिर्न, मान्छेलाई आराम गर्न बनाइएका सामग्री भत्केका भवनको भग्नावशेषले थिचेकाले त्यो सपना अधुरै रहेको ढुंगाना बताउँछन्।

‘नारायणहिटी पूरै घुम्न लगभग एक घन्टा लाग्छ। त्यसमा श्री सदनसमेत थपिए लगभग तीन घन्टा लाग्छ,’ उनले भने, ‘यसले दरबारको इतिहास बुझ्न र पर्यटन प्रबर्द्धनमा सहयोग गर्छ।’
२०७१ मंसिर १५ गते बसेको समितिको अर्को बैठकले श्री सदन भवन प्रदर्शनीमा ल्याउन अध्ययन प्रतिवेदन तयार पारेको थियो। अवलोकनकर्ताहरूलाई श्री सदन प्रदर्शन गराउन जाने र फर्कने बाटोको रुट निर्धारण त्यस प्रतिवेदनमा छ।
मुख्य संग्रहालय, त्रिभुवन सदन र फोहरा बगैंचाको अवलोकन गरी आगन्तुकहरू फोहरा बगैंचाको पूर्वतर्फको गेट प्रयोग गरी बम्बै चोक हुँदै जाने व्यवस्था मिलाइने तयारी थियो। त्यो बाटोबाट त्रिशुल सदनको पछाडिपट्टिको भाग, महेन्द्र मञ्जिलको भान्सा घर, सवारी साधनका ग्यारेज हुँदै श्री सदन मुख्य प्रवेशद्वार अगाडि पटांगिनी चोक पुगिन्छ। त्यहाँबाट श्री सदन भवनको पश्चिमतर्फको प्रवेशद्वार हुँदै भुइँतलाको १ नम्बर कक्षमा वीरेन्द्रको निजी कक्षमा प्रवेश गर्ने प्रबन्ध मिलाउने प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यो रुटबाट श्री सदन छिरेपछि पूर्वराजा वीरेन्द्रका महत्वपूर्ण वस्तुहरू राख्ने कक्ष नम्बर २ पुगिन्छ। ऐश्वर्यको निजी कार्यकक्ष नम्बर ३ हुँदै पहिलो तलाको लागि बायाँ भागको भ¥याङ उक्लिएर कक्ष नम्बर ४, ५, ६ अवलोकन गर्न सकिन्छ। बायाँतर्फको भ¥याङ उक्लिएर तेस्रो तलामा भएको निराजनको अध्ययन, सयनकक्ष र शारीरिक अभ्यासस्थल अवलोकन गरी दायाँतर्फ श्रुती बस्ने कक्षको अवलोकन गर्न सकिन्छ।
राजपरिवारको भोजन कक्ष, आराम कक्ष, अवलोकन गरी भोजनकक्षबाटै दायाँतर्फको द्वार प्रयोग गरेर बाहिर आउने गरी व्यवस्था मिलाइएको छ।
मुख्य संग्रहालयको फोहोरा बगैंचाको पूर्वतर्फको प्रवेशद्वार प्रयोग गरी श्रीसदनतर्फ प्रस्थान गर्न सक्ने व्यवस्था मिलाइएको थियो। त्यो द्वारदेखि श्रीसदन भवन परिसरसम्मको लामो रुटमा सिसिटिभी र सुरक्षाको प्रबन्ध गर्न समितिले सुझाव दिइएको थियो।
लामो र एकान्त क्षेत्र भएकाले अवलोकनकर्ताहरू आफ्नो गन्तव्य तर्फभन्दा अन्यत्र रुमल्लिने सम्भावना बढी भएकोले त्यो क्षेत्रमा सेना वा प्रहरी परिचालन गरिनु आवश्यक ठानिएको थियो। श्री सदन भवनभित्र रहेका ऐतिहासिक महत्वका सरसामग्री र कक्षहरूलाई मध्यनजर गरी प्रत्येक कोठा, भर्याङ र कौशीमा सीसीटिभी राख्नु आवश्यक रहेको समितिको ठम्याइ छ।

समितिको अर्को बैठक २०७१ मंसिर १९ गते बसेको थियो। त्यसले नारायणहिटी दरबार संग्रहालयको मनाङ मुस्ताङ स्टोरमा राखिएका राजा वीरेन्द्रको परिवारका फोटोहरूको खोजी गर्न आवश्यक ठानेको थियो। त्यस्ता फोटो पहिचान गरेर सो शाखाको समन्वयनमा एउटा व्यवस्थित फाइल बनाइ स्क्यान पनि गरिएको थियो। श्री सदन भवनका विभिन्न कक्षसँग मेल खाने तस्बिर विभिन्न कक्षमा राख्नु आवश्यक ठानिएको थियो।
श्री सदन अगाडि रहेको सानो चौरको दायाँवायाँ भागमा मेसिन लगाई चौर सफा र व्यवस्थित राख्न र दायाँवायाँ रोपिएका गुलाबको ग्राफिङ र कटिङ गरी बगैंचा बनाउने समितिको प्रस्ताव थियो।  त्यसले श्री सदनको सुन्दरता थप बढाउने अपेक्षा थियो। राजा र राजपरिवार श्री सदनमा कार्यरत पूर्व कर्मचारीहरूले प्रयोग गर्ने शौचालय अपुग रहेकाले शौचालय निर्माण, पानीको व्यवस्था गर्नुपर्ने सुझाव थियो।
श्री सदन भवन प्रदर्शनीमा ल्याउन सके विगत ५÷६ वर्षदेखि स्वदेशी तथा विदेशी पर्यटकको हेर्ने मनसाय पूरा गर्न सकिने समितिको बुझाइ छ। आकर्षण केन्द्र बनाउन सकिने, ऐतिहासिक महत्वका स्थान संरक्षित हुने, राजपरिवारको रहनसहन जान्न सकिने, राजश्व संकलन गर्न सकिने, वीरेन्द्रको बारेमा अध्ययन गर्न सकिने, सामान्य राजनिवास अवलोकनपश्चात त्यही किसिमको जीवनशैली उत्प्रेरित गर्न सकिने, नेपाली कला संस्कृति र राष्ट्रप्रति जनमानसमा भाव ल्याउने र  विशेष संग्रहालय हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
अधिकतम अवलोकनकर्ताले दरबार अवलोकन गरुन् भनेर श्री सदन अवलोकनका लागि छुट्टै टिकट लिनु नपर्ने व्यवस्था, मुख्य प्रवेशद्वार, टिकट इन्ट्री सेक्युरिटी, वा थ्रु गेट पछि श्री सदनका लागि प्रस्थान गर्न सक्ने बाटो बनाउनुपर्ने समितिको सुझाव छ। सुझावको निष्कर्षमा राजा वीरेन्द्रको निजी निवास प्रदर्शनमा ल्याउनु अपरिहार्य रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको स्थल जनमानसमा धेरै चासो जिज्ञासाको विषय बनिरहेको र जनमानको जिज्ञासा सम्बोधन गर्नुपर्ने ठहर छ।
...
त्रिभुवन सदन, जहाँ दीपेन्द्र बस्थे
२०५८ जेठ १८ गते शुक्रबार राति त्रिभुवन सदनको विलियार्ड हलमा राजपरिवारको पार्टी चलिरहेको थियो।
विलियार्ड हलको ढोका हुँदै दीपेन्द्र आफ्नो निवास पुग्थे। उनी बस्ने निवास पनि साधारण किसिमको थियो। विलियार्ड हलबाहिर एउटा सानो गोरेटो छ, जुन रुट हुँदै दीपेन्द्र आफ्नो निवास जाने गर्थे।
त्यही विलियार्ड हलअगाडि निराजनलाई गोली हानिएको थियो। निराजनलाई निशाना लगाएर हानिँदा धेरैपल्ट ‘मिस फायर’ भएको थियो, जसको निशानी त्यहाँ देख्न सकिन्छ।  निराजन ढलेको स्थानको झन्डै पाँच मिटर नजिक दीपेन्द्र ढलेका थिए। सानो पोखरीको पुलको डिलमा दीपेन्द्र ढलेका थिए। त्यसको पारिपट्टि ऐश्वर्य ढलेकी थिइन्।
दीपेन्द्र आफैंले गोली चलाएको भनिए पनि दरबार हत्याकाण्ड रहस्यमै छ।

पूर्वयुवराज दीपेन्द्रको निवास। यहीँ अगाडि एेश्वर्यमाथि गोली प्रहार भएको थियो। तस्बिर : खिलानाथ/सेतोपाटी
रानी ऐश्वर्य ढलेको स्थानमा रहेको भवन त्रिभुवन सदन पछि पूर्वराजा ज्ञानेन्द्रले भत्काएका थिए। दीपेन्द्र निवास भने सुरक्षितै छ।
त्रिभुवन सदन राजा त्रिभुवनले १९९० को भुइँचालोपछि बनाएका थिए। त्यतिबेला पुरानो नारायणहिटी दरबार भत्किएको थियो। दरबार भत्किँदा त्रिभुवनका दुई छोरीको मृत्यु भएको थियो। ‘भुइँचालोले दुई जना छोरीको निधन भएपछि ठूलो दरबारमा बस्नु हुन्न भनी त्रिभुवनले त्यो सदन बनाउनुभएको यहाँको इतिहासले बताउँछ,’ ढुंगाना भन्छन्, ‘पछि दीपेन्द्रले त्यो सदन प्रयोग गर्दै आउनुभएको थियो।’
उनका अनुसार १ करोड १२ लाख रुपैयाँ लागतमा त्रिभुवन सदन पुनः ठड्याइएको हो। त्रिभुवन सदनसँगै रानी ऐश्वर्य मारिएको स्थानमा भत्काइएको भवन पनि निर्माण गर्ने लक्ष्य लिइएको छ। ‘हामीले सबै काम सिध्याएका छौं, अब चाबी हस्तान्तरण गर्ने काममात्र बाँकी छ,’ त्रिभुवन सदन निर्माणका मुख्य ठेकेदार दीपेश बस्नेतले भने।
त्रिभुवन सदनभित्र ठूलो हल छ, जहाँ राजा वीरेन्द्रसहित सात जनाको हत्या भएको थियो। त्यही आकारको हल बनाइएको छ। सदनमा ६ वटा कोटा छन्। नयाँ बनेको त्रिभुवन ६ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ।

नयाँ बनेकाे त्रिभुवन सदन।  तस्बिर : खिलानाथ/सेतोपाटी
कसले बनायो नारायणहिटी?
नारायणहिटी परिसरको पूर्वभागमा शिखरशैलीको नारायण मन्दिर र त्यसको छेउमा धारा छ। नेपाल भाषामा धारालाई ‘हिटी’ भनिने हुनाले मन्दिर र धारा जोडेर ‘नारायणहिटी’ नामाकरण गरिएको यहाँको इतिहासमा उल्लेख छ।
नारायणहिटी प्रधानसेनापति शिवराम सिंह बस्नेतका कान्छा छोरा काजी धोकलसिंहको सम्पत्तिको रुपमा रहेको इतिहास बताउँछ।
१९०३ को कोतपर्वपछि यो परिसरलाई रणोद्वीप सिंहले आफ्नो बासस्थान बनाएका थिए। १९४२ सालमा घटेको ‘बयालीस साल पर्व’मा धोकलसिंहद्वारा बनाइएको भवन भत्काएर भाजुमानको डिजाइनमा नयाँ दरबार बनाइयो।
वीर शमशेरका दुई छोरीहरूको बिहे राजा पृथ्वी वीरविक्रम शाहले गरेका थिए। त्यसपछि नै यहाँ शाहवंशीय राजालाई स्थायी बसोबास गराइएको थियो। शाहवंशीय राजालाई यहाँ राख्ने परम्पराको सुरुवात वीर शमशेरले गरेका थिए।

वीर शमशेरले बनाएको नारायणहिटी दरबार १९९० को महाभूकम्पमा भत्कियो। त्यसपछि वास्तुकलाविद् इञ्जिनियर सूर्यजंग थापाको डिजाइनमा त्रिभुवन सदन निर्माण भएको थियो। हाल रहेको नारायणहिटी दरबार राजा महेन्द्रले २०२० सालमा निर्माण सुरू गरेका थिए। ६ वर्ष लगाएर निर्माण सकिएको नारायणहिटीको संरचनाले ४० हजार ८२० वर्गफुट क्षेत्रफल ओगटेको छ।
दरबारमा रहेका कक्ष देशका विभिन्न जिल्लाको नामबाट नामाकरण गरिएको छ। बैठक कोठा, राजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्ष, भान्सा, भोजन गरेर ५२ कोठा छन्। तीमध्ये १९ कोठा हाल प्रदर्शनीमा छन्। २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नारायणहिटी संग्रहालयको उद्घाटन गरेका थिए। पछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सर्वसाधारणको लागि संग्रहालय खुला गरिएको थियो।
भिडियो सहित हेर्नुहोस !
Advertisement
Newer Post Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images